You are here: Home » मिडिया / समाचार » उसको सम्झनामा दुई शब्द

उसको सम्झनामा दुई शब्द

उसको सम्झनामा दुई शब्द

गत वर्ष साउन २१ गते, आजकै दिन केही कामका लागि मेरो यात्रा राकमकर्णालीको लागि तय गरेको  थिए । र म १० बजे राकमकर्णाली तिर लागे । त्यो दिन असाध्य वर्षाका कारण रतीखोलामा पानी धेरै भएकाले खोला तर्न मलाई समस्या भयो । फिर्ता हु भने कार्यक्रमका लागि सहभागी बोलाई सकेको छु । फिर्ता नहुभने खोला तर्न सकिदैन् । पैसा लिएर भाईहरुले खोला तारिरहेका थिए । मैले सोचे कार्यक्रम रद्ध गर्नुभन्दा पैसा तिरेरै भएपनि  खोला तर्न आवश्यक छ ।

दिउसोको तिन बजि सकेको थियो । म राकमकर्णाली पुगे । अत्यधिक वर्षाका कारण सहभागीहरु पनि कार्यक्रममा उपस्थित हुन सकेनन् । त्यसपछि भाई डिल्ली खनाल र म राकमकर्णाली बजार घुमि सकेपछि ५ बजेतिर नास्ता खानाको लागि राकमकर्णालीकै एउटा होटलमा बसिरहेका थियौ । मोबाईलमा रिङ्गटोन बज्यो । हेर्दा म्याडमको  नम्बर थियो । मेरो घरमा प्रायः विहान बेलुका बाहेक दिउसो फोन गर्ने चलन छैन् । किन फोन ग¥यो होला भन्ने सोच्दै फोन रिसिभ गरे रु आवाज पञ्चरत्न दाईको थियो । नेटवर्कले काम नगरेका कारण कुरा नबुझिएपछि बाहिर निस्किए । र उहाँले हतारमा भन्नु भयो प्रदिप सिरियस छ । माया मेडिकलमा नभएर क्षेत्रिय हस्पिटलमा ल्याएका छौ । जति सकिन्छ छिटो आईज ।

मेरो बानी त्यति धेरै हतार गरिहाल्ने थिएन् । र मैले सोचे त्यति धेरै ठुलो समस्या छैन् होला । तर मनले मानेन फेरी कल गरे । र दाईले उही कुरा दोहो¥याउनु भयो त छिटो आईजा । त्यसपछि मेरो मन पनि आत्तियो र म घर तिर लागे । 

मसँगै डिल्ली भाई पनि थिए । बाटो भरी फोन आईरहेको थियो । मोबाईलको आवाज पटक पटक सुनिरन्थ्यो । सबैले सहानुभूती दिने भाषामा शव्दहरु बोलिरहन्थे तर प्रष्टसँग भन्न सक्दैनथे । मैले उनीहरुको भाषा बुझिसकेको थिए कि अव प्रदिप हामीसँग रहेन् । त्यही भएर होला सबैले बोल्ने भाषा र शैलि एकै नासको थिएन् । 

बाटो भरी उही अनुहार झल्किरहन्थ्यो । उही स्वर सुनिन्थ्यो । र मनमा लाग्थ्यो  अब ऊसँग कहिल्यै भेट हुदैन । अर्काे मनले सोचिरहेको थियो कति खेर ऊ सँग भेट हुन्छ र  उसलाई आनन्दले अंगालो हालेर अंकमाल गर्न सक्छु । 

मसँगै सुर्खेत जानको लागि दैलेख बाट साथीहरु रतिखोला सम्म आएका रहेका छन् । त्यहाँ सम्म मोटरसाईकल चलाएर आफै आएको थिए । खोला तर्न नसकेपछि मोटरसाईकल त्यही छोडेर त्यसै गाडीमा फर्के । 

बाटोमा नानाथरी कुराहरु खेल्दै थिए । जति घर नजिक आउदै थियो त्यति मन पनि आतिदै थियो । गाडीमा सँगै आएका कोही भन्दै थिए हस्पिटल जाउ । कोही भन्दै थिए हैन घर जाउ । मैले हस्पिटल जान आग्रह गरे तर अरुले नमानेपछि हामी घरमै गयौ । झण्डै रातीको १० बजि सकेको थियो होला । घर अगाडी सडक भरी मान्छे नै मान्छे थिए । घर भित्र मान्छे थिए । घर आगन भरी मान्छे थिए । संख्यामा धेरै भए पनि मैले नचिनेका अनुहार भने कमि थिएनन् । 

र मेरो नजरले उसैलाई खोजिरहेको थियो । घर नजिकै पुग्दा मेरो आवाज प्रदिप भनेर निष्कियो । म प्रदिपलाई अंगालो हालेर चुम्बन गर्न आतुर थिए । म उसलाई मायाले सुम्सुम्याउन चाहान्थे । त्यो हुल भित्र उसलाई खोजीरहे तर मैले न उसको आवाज सुन्न पाए न भौतिक शरिर नै देख्न सके । केवल मेरो आखाँ भरी आशु थियो । र निराशाले भरीएको मन थियो । मन थाम्न नसकेर छोरीलाई अंगालो हाल्दै आशुको माध्यमबाट भावनाहरु पोख्ने प्रयास गरे । 

उज्यालो भयो । केही मान्छे घरमै सुतेका थिए त कोही आउदै थिए । उसलाई हस्पिटलमा राखिएको रहेछ । मैले सबै कुरा बुझने प्रयास पनि गरिन् । मेरो मन उनसलाई भेट्ना आत्तिएको थियो । मेरा हातहरु उसलाई छुन आत्तिएका थिए । म घरमा आउदा मेरो सधै झोला खोल्ने उ । बुबा आउदै छ भन्दा बाटो हेरी बस्ने उ त्यो दिन, हस्पिटलको चिसो छिडिमा मस्तसँग निदाईरहेको थियो ।

उसलाई भेटे । एकोहोरो उसलाई हेर्ने मेरो मन थियो । न मन थाम्न सके, न आखाबाट आशु रोक्न सके । र समयले पनि नेटो काटि सकेको थियो । उ हामीबाट कहिल्यै नफर्किने गरी जादै थियो । उसको अन्त्यहिन यात्राकालागि विदाईका हातहरु हल्लाउन आफन्तहरु आतुर थिए । 

घाटमा उसलाई अन्तिम समय सम्म हेर्दै गरे  । उसको वरीपरी ज्वालाका लप्काहरु बलिरहेका थिए । उ आगोको लप्का भित्र खेलीरहेको थियो । आगो निभ्दै गयो र उसका अवशेषहरु पनि हराउदै गए । घाटमा सुर्य अस्ताई सकेका थिए । अध्यारो बढदै गयो । झ्याउकिरीका आवाज सुनिदै थिए हामी घरतिर फर्कियौ ।